Kath khabar
हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु

 

                 डोल्पा, चैत १८ । हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो । बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे मृत्यु भएको उहाँले बताउनुभयो । खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उहाँको निधन भएको हो । उहाँले सँगै लिएका दुई वटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर बालिकाको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह प्रेमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।
(रासस)

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update