Kath khabar
अखिलको सडक बहसमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी

                    काठमाडौं, चैत १८ । अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएको परीक्षाको कपी हराएको विषयमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ ।

प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिलेसम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएको सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरि लगायतका अन्य नेताहरुको उपस्थितिमा केन्द्रिय शैक्षिक विभागको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियुको शैक्षिक विभागले त्रिविका उपकुलपति, परीक्षा नियन्त्रक लगायतलाई पनि बहसमा बोलाएको थियो । तर, उहाँहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै कोणसभामा मोडिएको थियो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरूले त्रिविको ढिलासुस्ती कहिले सम्म ?, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, १६८ वटा कपी खोई जस्ता नाराहरु लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्या देखि कतिदिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसैगरी जवाफविहिन भएर भागेर बसे अझैं ठूलो रचनात्मक आन्दोलनको बाटो अपनाउने बताउनुभयो । 'आज हामीले यहाँ उपकुलपतिलगायतका कर्मचारीसँग जवाफ माग्ने भनेका थियौं । तर उहाँहरूको उपस्थिति भएन । हामी उहाँहरूलाई चुनौतीका साथ भन्न चाहान्छौं । यसरी जवाफविहिन भएर  भागी हिड्ने हो भने आज हामीले सांकेतिक कुर्सी राखेर कार्यक्रम गरिरहेका छौं । तपाईंहरु बसेको कुर्सीबाट तपाईँहरूलाई सडकमा ल्याउन सक्ने ल्याकत अनेरास्ववियुसँग छ । यो चेतना तपाईँहरूलाई होस्' उहाँले भन्नुभयो ।

त्यस्तै कोणसभामा आफ्नो भनाई राख्दै उपाध्यक्ष गोविन्द गिरीले वर्षेनी त्रिविको लापरबाहीका कारण परीक्षा लिइसकेको कापी हराउने र विद्यार्थीलाई पुनः परीक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविको ध्यानाकर्षण गराउनुभएको थियो ।

’विश्व एआईको जमानामा फड्को मारिसके पनि त्रिवि अहिले पनि पुरानै सिलेबमा अड्को छ । यो विद्यार्थीका लागि उपयोगी हुन सक्दैन यसमा त्रिविले ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो । त्यस्तै शैक्षिक विभाग प्रमुख गोविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दोलनबाट पनि नसुध्रिए देशैभर अझ शसक्त आन्दोलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारिक बन्न त्रिविका कर्मचारीको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update