Kath khabar
रुसी सेनामा रहेका नेपाली सैनिकका परिवारले सिंहदरबार अगाडि गरे प्रदर्शन, १५ प्रदर्शनकारी पक्राउ


               काठमाडौं, चैत १९ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सचेतना अभियानकी अभियन्ता कृति भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने दस पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरुले रुसी सेनामा रहेकाहरुको उद्धार, भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै सिंहदरबारको दक्षिणी गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले विदेशमा सेवा गरिरहेका आफ्ना परिवारका सदस्यहरूको अवस्था र अवस्थाबारे सरकारसँग थप पारदर्शिताको माग गरेका छन् ।



 

 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update