ताइवान, चैत २१ । ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् ।
करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो ।
केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ ।
हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामिण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो ।
समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।
एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठूलो पहिरो खसेको देखिएको छ । एक जना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् ।
हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढीप्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीइ टेलीभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्वीरमा देख्न सकिन्छ ।
प्रत्यक्षदर्शीको अनुभव
बुधबार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भन्नुभयो, “भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।
राजधानीबाहिर रहेको लिउको न्यू ताइपेइ शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।
स्थानीय समयअनुसार बिहान ८ ः०० बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो ।
वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए ।
प्रिन्टिङ प्रेस नजिकै बस्ने चाङले भन्नुभयो, “घरका धेरै सजावट भुइँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । “हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला,” उहाँले बताउनुभयो ।
अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पु¥याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए ।
ताइवानको दोस्रो ठूलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठूला ठूला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।
ताइवानभरि नै शक्तिशाली धक्का महसुस
ताइपेइस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वु चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महसुस गरिएको थियो । भूकम्पको महशुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।
“सन् १९ को भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भन्नुभयो । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् ।
सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।
जोखिम र सतर्कता
भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महशुस गरिन्छ ।
ताइवानको राजधानी ताइपेइमा ठूला ठूला भवनहरू बनाइएकाभएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।
न्यू ताइपेइ शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताउनुभयो ।
भत्किएको ठूलो भवन नजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताउनुभयो ।
उहाँले बुधबारको भूकम्पको धक्काबारे भन्नुभयो, “भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ त्यसैले मैले यसलाई सुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।” तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प व्यहोरेको बुधबारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएकोे’ बताउनुभयो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, “मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर काँपिरह्यो ।