काठमाडौं,बैशाख ६ । नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डसमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
किर्तीपुरस्थित त्रिवी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ३६ रनको झिनो योगफल बनायो । सुरुवाती दुइ विकेट मात्र १२ रन बनाउँदा गुमाएको नेदरल्याण्डसको पारीलाई स्कट एडवार्डस र भास डि लिड मिलेर उकास्नुभएको थियो ।
यो जोडीले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो । लिडले सर्वाधिक ४१ रन बनाए । एडवार्डसले ३०, कप्तान पिटर सिलारले २३ तथा एन्टोनियस स्टालले २० रन जोड्नुभयो ।
नेदरल्याण्डसलाई कम रनमा रोक्न सन्दिप लामिछानेले दुइ विकेट लिनुभयो । चार ओभर बल फाल्नुभएको उहाँले २२ रन खर्चिनु भएको थियो ।
चारै ओभर बलिङ गरेका सोम्पालले मात्र १३ रन खर्चिएर एक विकेट लिनुभयो । राष्ट्रिय टिमबाट पहिलो पटक खेलेका साहबआलमले भने ४५ रन दिएर मात्र एक विकेट लिनुभयो । १ सय ३७ रनको झिनो लक्ष्य नेपालले मात्र एक विकेटको क्षतिमा पुरा गर्यो ।
यही प्रतियोगिताबाट डेब्यु गर्नुभएको ओपनर जोडि कुशल भुर्तेल तथा आसिफ शेखले पहिलो विकेटका लागि एक सय १६ रनको ठुलो साझेदारी गरि टिमलाई बलियो सुरुवात दिलाउनुभएको थियो ।
कुशलले ६२ रनको पारी खेल्नुभयो । ४६ बलको सामना गर्नु भएको उहाँले पाँच चौका र पाँच छक्का प्रहार गर्नुभएको थियो ।
यस्तै अर्का ओपनर आसिफले पनि ३८ बलमा चार चौका र चार छक्काको मद्धतमा ५४ रनको अर्धशतकपारी खेल्दै अविजित रहनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले १३ रनको योगदान गर्नुभयो ।
प्रतियोगिताको दोस्रो खेल भोली नेदरल्याण्ड्सले मलेसियासँग मध्यान्हको सवा १२ बजे खेल्ने छ ।
कुशल र आशिफको विश्वकिर्तीमान
आशिफले यस अघि नै राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधीत्व गरेपनि टि ट्वान्टी क्रिकेटमा उहाले पहिलो पटक नेपालको प्रतिनिधीत्व गर्नुभएको हो । यस अघि आसिफले २०१७ मा बंगलादेशमा आयोजना भएको इमर्जिङ टिम्स एसियाकपमा राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएको थियो ।
उहाँले नयाँ खेलाडी कुशल भुर्तेलसँग मिलेर ओपनरका रुपमा बनाएको १ सय १६ रनको ठुलो रनको योगफल विश्वमै नयाँ रेर्कड हो । साथै यी युवा ओपनरले २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त टि–ट्वान्टी क्रिकेटमा पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बनाएको एक सय ८ रनको रेकर्ड पनि भंग गर्नुभएको छ ।