Kath khabar
रैथाने नेपाली स्वादको विश्वव्यापी प्रर्वद्धनमा नेपाली भान्सेहरु

ललितपुर, असार २२ । नेपाली रैथाने स्वादको विश्वव्यापी प्रर्वद्धनमा अहोरात्र खटिरहनु भएका नेपाली बरिष्ठ भान्सेहरु आज पूनः एकपटक तेस्रो ग्लोबल टेष्ट कन्फरेन्स मार्फत विश्व बजारमा रैथाने नेपाली खाना सहित उपस्थिति हुनुभएको छ ।

‘टेष्ट फर ग्लोबल ग्याष्ट्रोनोमी फ्रम ग्रीस’ का एम्बेसेडर बरीष्ठ सेफ श्री नारायण बहादुर थपलियाको अग्रसरता र ग्याष्ट्रोनोमी एशोसियसन अफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा थप हौसला, सुझाव, सल्लाह प्रदान गर्न वरिष्ठ सेफ श्री गोबिन्द नरसिंह के.सी., वरिष्ठ सेफ पुष्प थापा मगर, नेपाल एकेडेमी अफ टुरिजम् एण्ड होटल म्यानेज्मेन्ट (नाथम) का फ्याकल्टी चिफ श्री मन राजा खत्री, होटल एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष श्री विनायक शाह, सेफ्स एशोसियसन अफ नेपालका उपाध्यक्ष शिवहरि घिमिरे, सेफ्स एशोसियसन अफ नेपालका सदस्य पुष्कर पनेरु लगायत विभिन्न होटलहरुमा कार्यरत करीब २५ जना सेफहरुको उपस्थिति रहेको थियो ।

भोइस अफ सेफका संचालक तथा प्रस्तोता चर्चित सेफ विक्रम विक्सले संचालन गर्नुभएको उक्त कार्यक्रम ललितपुर धोविघाटस्थित रसेटो रेष्टुरेन्टमा सम्पन्न भएको हो । उक्त रेष्टुरेन्टका प्रवन्ध निर्देशक सेफ रामनाथ पौड्यालले उपल्लो स्तरको यस्तो कार्यक्रम आफ्नो रेष्टुरेन्टमा सम्पन्न हुँदा आफू अत्यन्त गौरवान्वित भएको बताउनुभयो ।

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको उक्त कार्यक्रम फेसबुक लाइभ मार्फत विश्वभर प्रसारण भएको थियो । विश्वका धेरै देशका सेफहरु ग्रिसको ग्राण्ड हायातमा एकत्रित हुनुभएको तर नेपाल लगायत भारत र भियतनामका सेफहरु कोभिड–१९ को विषम परिस्थितिले गर्दा अनलाइन लाइभ मार्फत जोडिनु परेको जानकारी आयोजक सेफ नारायण बहादुर थपलियाले जानकारी दिनुभयो ।वरिष्ठ सेफ गोविन्द नर सिं के.सी. ले यस्ता प्रकारका कार्यक्रमले मौलिक रैथाने स्वादले विश्व बजारमा प्रवेश पाउने, संसारभर छरिएर रहेका नेपाली सेफहरुलाई एकत्रित हुन र सहकार्य गर्न कोसेढुङ्गा सावित हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । 

हामीले त बाटो देखाउने हो, अब नयाँ पुस्ता अघि बढ्नुपर्ने र त्यसका लागि उचित सल्लाह सुझाव सहित मार्ग निर्देशन दिन आफूहरु हरदम तयार रहेको पनि वहाले प्रष्ट्याउनु भयो । आजको उक्त कार्यक्रममा बेलको सर्बत, साँधेको गुन्द्रुक र हरियो भटमास सहित तारेको माछा, क्वाँटीको झोल, पहाडी थाली सेट र अन्तिममा योमरी प्रस्तुत गरिएको थियो ।

उक्त खानाहरु आगामी वर्षको टेष्ट फर ग्लोबल ग्याष्ट्रोनोमीको गाइड बुकमा समावेश गरिने जानकारी ग्याष्ट्रोनोमी एशोसियसन अफ नेपालका अध्यक्ष सेफ नारायण बहादुर थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update