Kath khabar
सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


                   काठमाडौं, चैत २६ । काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको सामान राख्ने गोदाम (स्टोर रुम) मा आगलागी भएको छ । 

उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।”

दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाले आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी  परिचालन भइराखेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “म अहिले  आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पुर्‍याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।”

उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले  आगो नियन्त्रणका तत्काल  नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ । 

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागी भएको स्थलको अवलोकन गर्नुभएको छ ।  उहाँले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिनुभएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update