Kath khabar
सशस्त्र प्रहरीको गोदाम आगलागी घटना :  नौ सदस्यीय छानबिन समिति गठन
Photo : Via Social Media


                 काठमाडौं, चैत २७ । काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

“के कारणले आगलागी भयो ? आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिनेछ”, उहाँले भन्नुभयो ।

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने  घटनास्थलमा पुग्नु भई आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिनुभएको थियो ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update