Kath khabar
माथिल्लो तामाकोसीको निर्माण लागत किन दोब्बरले बढ्यो ?

काठमाडौं, असार २३ । दोलखामा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत दोबरले बढेको देखिएको छ । काममा ढिलाई गर्ने कम्पनी ट्याक्सम्याकालाई समयमै काममा लगाउन नसक्नु र भूकम्प र नाकाबन्दीका कारण यसको लागत दोब्बरले बढेको हो ।

आयोजनाले सोमबारदेखि ७६ मेगावाट उत्पादन थालेको छ । कुल ४ सय ५६ मेगावाट मध्ये यसले सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन थालेको हो । सुरुमा २०६८ सालमा निर्माण सुरु गर्दा ब्याज सहित ४८ अर्बमा ६ वर्षमा निर्माण सक्ने भनिएको थियो । यसमा ब्याजबाहेक कबिर ३५ अर्बमा निर्माण गर्ने सरकारको योजना थियो तर अहिले यो आयोजनाको लागत अहिले ८० अर्ब पुगिसकेको छ ।

समयमै निर्माण गर्न नसक्दा यसको  ब्याज लागत ठूलो मात्रामा बृद्धि भएको छ । यो आयोजनामा ३२ अर्ब जति वित्तीय संस्थाको व्याजमा नै खर्चनु परेको छ । किनभने  यो आयोजना पूर्व निर्धारित समय भन्दा करिब ४ वर्ष ढिलो गरि निर्माण सकिएको  छ । यसबाहेक डलर तथा  सामानको भाउमा भएको बृद्धिले थप १४ अर्ब खर्चनु परेको देखिन्छ ।

हाइड्रोमेकानिकलको जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकोले २ स्थानमा पेनस्टक पाइप जडान गनुपर्ने थियो तर उसले समयमा काम अघि बढाउन सकेन । समयमै काम अघि बढाउन  नसकेपछि आयोजनाको व्यवस्थापन समुहले टेक्सम्याकोबाट काम खोसेर अष्ट्रीयन कम्पनी एन्ड्रिजलाई दिएको थियो । तर यसमा टेक्सम्याकोलाई कारवाही गर्नेभन्दा पनि उसले नसकेको काममात्रै एन्ड्रिजलाई हस्तान्तरण गरिएको थियो ।

भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माण  प्रभावित भएपछि पनि यसको निर्माण  समयमै सकिएन, जसले पनि आयोजनाको लागत भारी मात्रामा बृद्धि गरिदियो । लामो समयसम्म काम अघि नबढाउँदा पनि टेक्सम्याकोलाई कारवाही गर्ने व्यवस्थापन समुहले आट गर्न सकेन । समयमै काम अघि नबढाउने ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई कारवाही गर्न नसक्दा यस खालको  समस्या देखिएको हो ।

निर्माण समयममा सम्पन्न नहुँदा यसले लागत बढाउँदै लग्यो । जसको घाटा ठेकेदार कम्पनी र कर्मचारीलाई नभई शेयर धनिलाई भएको छ । जसमा स्थानिय, कर्मचारी र सरकारको लगानी छ । आयोजना प्रमुखहरुले समयमै निर्णय लिन नसक्दा र ट्याक्सम्याकोलाई काममा लगाउन नसक्दा अहिले  सबै शेयरधनिले यसको क्षति व्यहोर्नु परेको छ ।  

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update