Kath khabar
दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै कतारका राजा


                   काठमाडौं, वैशाख ११ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न ४ बजे नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । साथै उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लाग्नुभएको हो ।

यसै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यस्तै कतारी राजालाई नेपालले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा 'रुद्रकली' र सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ दुई हात्ती उपहार दिने तयारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update