Kath khabar
‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’


                         काठमाडौं, वैशाख १२ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ ।

नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।

“भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।”

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताउनुभयो । भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । त्यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ । यसरी पुनःनिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नुभएको छ । (रासस)

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update