काठमाडौं, असार २३ । नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने बताएको छ । बुधबार निगमका महाप्रवक्ता डिम प्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने बताउनुभएको छ ।
उहाँले निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको बताउनु हुँदै व्यवस्थापनले निगम सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उल्लेख गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७८,७९ को आयव्ययको सार्वजनिक वक्तव्यको बुँदा नं. ४२७ मा भएको व्यवस्थाको कार्यान्वयन तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले निगममा गरेको ऋण लगान सम्बन्धमा अर्थ सचिवको अध्यक्षतमा विभिन्न पदाधिकारीहरुको उपस्थितिमा २०७८ जेठ २८ मा सम्पन्न भएको बैठकले गरेका रणनीतिक साझेदारी भित्राउने प्रक्रिया शुरु गर्ने र निगमको शेयर पुँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने लगायतका निर्णयहरु आवश्यक कार्यान्वयनका लागि भनि निर्देशन प्राप्त भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । उनीहरुले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप पनि लगाएका छन् ।