प्यालेस्टिन अधीनस्थ क्षेत्र, वैशाख १९। प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताउनुभएको छ । यद्यपि उहाँले कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिनुभयो ।
हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ । हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताउनुभयो । यद्यपि उहाँले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताउनुभएन ।
अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उहाँले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताउनुभयो । उहाँले यसको उद्देश्य ‘यो यद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिनुभयो ।
यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल आक्रमणलाई अगाडि बढाउने इजराइलको दृढ सङ्कल्पसँग बाझिएको जस्तो देखिन्छ । वार्ताको जानकार भएको एक स्रोतले कतारी मध्यस्थकर्ताहरूले एक वा दुई दिनमा हमासको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएको छ ।
स्रोतका अनुसार इजराइलको प्रस्तावमा ‘वास्तविक सुविधाहरू’ समावेश छन् । यसमा युद्धमा प्रारम्भिक विराम र बन्धक तथा कैदीहरूको आदानप्रदानपछि ‘दिगो शान्ति’ को अवधि समावेश गरिएको छ । स्रोतले गाजा क्षेत्रबाट इजराइलको फिर्तीको विवाद सम्भावित मुद्दा बनेको बताएको छ ।
इजराइली सरकारले ‘बुधबार रातिसम्म जवाफको प्रतीक्षा गर्ने’ र सम्झौतालाई अन्तिम रूप दिन कायरोमा दूतलाई पठाउने वा नपठाउने भन्नेबारे पुनः ‘निर्णय गर्ने’ एक इजराइली अधिकारीले एएफपीलाई बताए ।