उल्भ्सबर्ग, बैशाख ५ । जर्मन लिग बुन्डेस लिगामा साविक बिजेता बायर्न म्युनिखले उल्भ्सबर्गमाथि तीन दुइ गोलको झिनो अन्तरको जित हात पारेको छ । यो नतिजा पछि शीर्षस्थानको बायर्नले तालिकामा सात अंकको अग्रता बनाएको छ । उल्भ्सबर्गको घरेलु मैदानमा भएको खेलमा बायर्न सुरुवाती २४ मिनेटमा दुइ गोलको अग्रता बनाएको थियो ।
खेलको १५ औ मिनेटमा जमाल मुसियालाले गरेको गोलसँगै बायर्नले खाता खोलेको थियो । २४ औ मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गरि बायर्नको अग्रतालाई दोब्बर बनाए । ३५ औँ मिनेटमा वाउट वेगहस्र्टले घरेलु टोली उल्भ्सका लागि गोल फर्काएपछि खेल दुइ एक गोलको अवस्थामा आएको थियो । ३७ औ मिनेटमा थोमस मुलरले दिएको पासलाई सदुपयोग गरि मुसियालाले व्यक्तिगत दोस्रो गोल गरि बायर्नलाई पहिलो हाफमा तीन एकले अघि राखे । ५४ औँ मिनेटमा म्याक्सिमिलान फिलिपले गोल गरेर अन्तर घटाए । बाँकी समय दुवै टिमबाट गोल हुन सकेन र बायर्न तीन दुइले बिजयी भयो ।
बायर्नको २९ खेलबाट ६८ अंक छ यता तेस्रो स्थानका रहेको उल्भ्सबर्गको समान खेलबाट ५४ अंक छ ।