Kath khabar
‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’ मा अनुबन्धित


                      काठमाडौं, वैशाख २१ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ को नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’ को रूपमा चर्चित बमलाई चलचित्रको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू चर्चित छन् ।

जुन पात्र चलचित्रको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए । उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए । ‘होस्टेल’ बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् ।

‘होस्टेल ३’ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’ लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन् । यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताएका छन् ।
PARASH-BAM-AKA-COOL-BOY-in-HOSTEL-3-1714720311.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update