Kath khabar
नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतिमा लगाएको अभियोगमा दुईजना पक्राउ


                   काठमाडौं, वैशाख २१ । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका–६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका–९ बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।

टोखा नगरपालिका–९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update