Kath khabar
चलचित्र 'पूजार सार्की' को विषयमा दलित आयोगको चासो

 

                        काठमाडौं, वैशाख २१ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र 'पूजार सार्की' प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए ।

चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो। चलचित्रका अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो । लेखक सुवेदीले आयोगलाई चलचित्रको कथावस्तुबारे जानकारी दिँदै 'पूजार सार्की' आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे । 

आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, “मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा चलचित्र लेखेको हुँ । चलचित्रमा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ । यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो। “कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित चलचित्रबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए । “तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा चलचित्रको कथा घट्छ,“ उनले भने ।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन् । चलचित्रको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले चलचित्र गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन् । अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको रहेछ । उनले भनिन्, "जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको थियो । जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि चलचित्र बनाउनुपर्छ र भन्ने भएको थियो । जब चलचित्रको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो । त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ ।"

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले 'पूजार सार्की' निर्माण भएकोमा खुसी व्यक्त गरे । उनले चलचित्रलाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । “जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ । यो कुराको अन्त्यका लागि चलचित्र बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ। र, आयोगले चलचित्रलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,“ अध्यक्ष विश्वकर्माले भने ।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि चलचित्रले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । दिनेश राउतको निर्देशनमा तयार भएको 'पूजार सार्की' आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update