काठमाडौं, वैशाख २४ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ ।
आइतबार लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । आइतबारलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आगामी जेठ १ गतेका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेशीमा गएको छ, आइतबारविपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन ।” यसअघि गत आइतबार अदालतले पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।