Kath khabar
फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’


                          काठमाडौं, वैशाख २७ । यही जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन् ।  उनले लेखेका छन्, “निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।”

पलले ‘पुजार सार्की’ को ट्रेलरलाई एक दिनमा नै १० लाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । उनले यो चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा मागेका छन् । “म अर्को चलचित्र ‘रावायण’ को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु,” शाहले लेखेका छन्, “मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।”

आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, “मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।”

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ । यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update