किएभ, वैशाख २८ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।
जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गर्नुभएको अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो । यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य आएको छैन ।
एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।
युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेलमाथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेनविरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा (एफएसबी) बाट दुई ड्रोन र गोला बारुद प्राप्त गरी अर्को सहयोगीलाई विस्फोटको लागि हस्तान्तरण गर्न चाहन्थे । एसबियुले जेलेन्स्की र एसबियुका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभलगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने ‘सक्रियरूपमा विकास भइरहेको योजना’ लाई ‘विफल’ पारेको बताएको छ ।
दुई अङ्गरक्षकले सङ्घीय सुरक्षा सेवामा संवेदनशील जानकारी सार्वजनिक गरेको आरोप लगाउने एसबियुको आरोपमाथि रुसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । पछिल्लो समयमा रुससँगको युक्रेनी द्वन्द्वमा प्रगति अवरुद्ध भएकाले जेलेन्स्कीको प्रशासनले धेरै कठिनाइको सामना गर्नुपरेको छ । साथै अधिकारीहरूले भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् ।
यसअघि फेब्रअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेनाप्रमुखका रूपमा नियुक्त गर्नुभएको थियो ।
---