काठमाडौं, वैशाख २८ । सङ्घीय संसद बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उहाँले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गर्नुभयो ।