केप क्यानभरल (अमेरिका), वैशाख २९ । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।
शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए ।
बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ ।
बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भन्नुभयो, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उहाँले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताउनुभयो ।
एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भन्नुभयो, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”
एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् ।
“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो : अरोरा”, स्टिनबर्गले भन्नुभयो । उहाँ र उहाँका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताउनुभयो ।
रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको थियो । (रासस/एपी)