काठमाडौं, असार २५ । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।
शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो । बैठकमा नेपाल, श्रीलंका र माल्दिभ्सका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले ऋण सहायताले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताउनु भएको छ ।
नेपालस्थित विश्व बैंक कार्यालयले, ऋण सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरेको छ ।