काठमाडौं, जेठ १ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गर्नुभएको छ ।
मंगलबार बिहान २ः१५ बजेको विमानबाट मेयर शाह फ्रान्स प्रस्थान गर्नुभएको हो । प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल हुनुहुन्छ ।
उहाँहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो ।
प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनुहुनेछ । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ । उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । प्रमुख शाह भने ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनुहुनेछ ।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।