Kath khabar
भारतमा आँधीका कारण ठूलो विज्ञापन बोर्ड खस्दा १४ जनाको मृत्यु, करिब ७५ जना घाइते


                  नयाँदिल्ली, जेठ १ । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण विज्ञापनको ठूलो बिलबोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ ।

इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियो । पीडितहरू आँधी र वर्षाको बिचमा इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुदाँ ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान गएको स्रोतले जनाएको छ ।  

स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । पछिल्लो रिपोर्टका अनुसार मुम्बई पुलिसले अवैध रूपमा जडान गरिएको विज्ञापन बोर्डको मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।  

सामान्यतया यस्ता होर्डिङको लम्बाइ र चौडाइ ४०*४० फिट अर्थात ४० फिट लामो र ४० फिट चौडाइ हुन्छ भने यो होर्डिङ १२०*१२० को थियो । यस्तो अवस्थामा यति ठूलो होर्डिङ कसरी राखियो र कसले अनुमति दियो भन्ने प्रश्न उठिरहेको भारतीय मिडियाहरुले जनाएको छ ।

 

– - -

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update