Kath khabar
मिस युनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला


                     काठमाडौं, जेठ १ । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस युनिभर्स नेपाल”को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस युनिभर्स नेपाल २०२४” को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेशनल डिरेक्टर सङ्गीता पुरीले भनिन, “मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरूलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरूको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।” प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ ।

इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

उच्चमाध्यमिक शिक्षा पूरा गरेका १८ वर्ष भन्दामाथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन् ।

सहभागीहरूले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरू छानिने छ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरू छानिने छ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिने छ भने उनिहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले मामिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिति रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरूले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष  २२ प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस युनिभर्स नेपाल २०२४ को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक रजिस्ट्रेसन पार्टनरको रुपमा खल्ती रहेको छ भने स्किन केयर पार्टनरको रुपमा मिस युनिभर्स स्किन केयर रहेको छ । त्यसै गरी नेपाल पर्यटन बोर्ड आधिकारिक टुरिजम पार्टनर रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update