काठमाडौं, जेठ २ । ज्योतिष एवम् इतिहासका विद्वान नयराज पन्तले खोलेको पाठशालाका पहिलो चरणका शिष्यमध्ये हुनुहुन्थ्यो इतिहासकार ज्ञानमणि नेपाल । पन्तले खोलेको पाठशालापछि संशोधन मण्डलमा परिणत भएको थियो । पन्तले भारतको बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी फर्केपछि १९९५ सालमा संस्कृत पाठशाला खोल्नुभएको हो । यसैलाई पछि संशोधन मण्डल नामकरण गरिएको थियो ।
पन्तले स्थापना गर्नुभएको गुरुकुलीय पद्दतिको पाठशालामा अध्ययन गर्नुभएकाले इतिहासकार नेपालसँग कुनै शैक्षिक प्रमाणपत्र त थिएन । नयराज पन्तको गुरुकुलमा अध्ययन गर्ने शिष्यसँग औपचारिक प्रमाणपत्र नभए पनि अहिले विभिन्न क्षेत्रमा अब्बल भएर काम गरिरहेका भेटिन्छन् । गुरुकुलमा अध्ययन पूरा गरेपछि नेपालले पशुपति क्षेत्रस्थित मृगस्थलीमा योगी नरहहिनाथलगायतले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पढाउनुभयो ।
एक वर्षसम्म मृगस्थलीको गुरुकुलमा पढाएपछि नेपाल गृह जिल्ला भोजपुर फर्कनुभयो । भोजपुरमा केही वर्ष काम गरेपछि उहाँ काठमाडौँ फर्किएर नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास) मा काम गर्न थाल्नुभयो । संस्कृत साहित्यमा नेपाल अब्बल हुनुहुन्थ्यो । यसले गर्दा प्राचीनकालमा संस्कृत भाषामा लेखिएका कागजातको अध्ययन गरी इतिहास लेखनमा उहाँलाई मद्दत पुग्यो । नयराज पन्तले ‘मेरो ज्योतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुन्नेहरु अहिले पनि छन् ।
उहाँका धेरै समकालीनले यो सम्झना सुनाउने गरेका छन् । नेपाल प्रमाण पुर्याएर इतिहास लेख्ने प्रतिभाशाली लेखकमा पर्नुहुन्छ । उहाँसँग नेपालको इतिहास र सांस्कृतिक विषयमा धेरै ज्ञान थियो । नेपालका नेपाल निरूपण, नेपाल निरुक्त र नेपालको पूर्वमध्यकालको इतिहासमा इतिहाससम्बन्धी धेरै विषयवस्तु समेटिएको छ ।
यी उहाँका पढ्नैपर्ने पुस्तकमा पर्छन् । इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको कमी भयो भन्ने चर्चा चलिरहेका बेला नेपालको लगनशीलताले आकर्षित गरेर उहाँसँग अध्ययन गर्न जानेको सङ्ख्या पनि उल्लेख्य थियो ।
‘राज्यले उपयोग गर्न सकेन ज्ञानमणिको ज्ञान’
पछिल्लो समय नेपालसँग अध्ययन अनुसन्धानमा सक्रिय हुनुभएका हरिप्रसाद सोडारी उहाँमा भएको ज्ञान राज्यले उपयोग गर्न नसकेको बताउनुहुन्छ । इतिहास र संस्कृतिसम्बन्धी गहिरो ज्ञान भएका नेपालमा ऐतिहासिक सन्धिपत्रलगायत सामग्री अध्ययन गर्ने क्षमता थियो । उहाँबाट यसको ज्ञान पुस्तान्तरण गराउन भने राज्य नै चुकेको उहाँ बताउनुहुन्छ ।
उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभएका बेला इतिहाससम्बन्धी धेरै काम भएको थियो । उहाँको बहुचर्चित पुस्तक ‘नेपालको महाभारत’ साझा प्रकाशनले प्रकाशित गरेको थियो । अहिले बजारमा पाइँदैन । यसको पुनःप्रकाशन नहुँदा धेरैले चाहेर पनि अध्ययन गर्न नपाएको सोडारी बताउनुहुन्छ । इतिहासकार नेपालले लेख्नुभएको पहिलो पुस्तक ऐतिहासिक पत्रसङ्ग्रह भाग १ हो । नेपाली इतिहासको अध्ययन अनुसन्धानका लागि यो महत्वपूर्ण पुस्तक मानिन्छ । २०१४ सालमा नै लेखिएको यस पुस्तकमा त्यस बेलासम्म नेपालमा प्रकाशमा नआएका विशेषगरी मध्य र शाहकालका ऐतिहासिक पत्रहरूको व्याख्या गरिएको छ । यसबाट त्यस समयको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रुपमा यो स्थापित भएको छ ।
पुस्तकमा लेखिएका प्रमाणको सक्कल कागजातको तस्बिर पनि छापिएको छ । धनबज्र बज्राचार्यसँगको सहलेखनमा यो पुस्तक तयार भएको हो । बज्राचार्य पनि नयराज पन्तकै शिष्य हुनुहुन्थ्यो । पन्तले बढी रुचाएका शिष्यमा बज्राचार्य र नेपाल रहनुभएको थियो । नेपालको प्राचीन इतिहासका विषयमा नेपालले लामो समय कलम चलाउनुभयो । उहाँले साहित्यिक कृति पनि उत्तिकै प्रकाशन गर्नुभयो ।
सिनासबाट उहाँका धेरै पुस्तक प्रकाशन भएका छन् । ‘नेपालको पूर्वमध्यकालीन राजनीतिक इतिहास’ तिनैमध्येको पुस्तक हो । त्यस कालखण्डबारे एउटा लेख पनि नभएका बेला नेपालले नेपाली अनुसन्धाता र इतिहासका विद्यार्थीका लागि अध्ययन सामग्री उपलब्ध गराइदिनुभएको सम्झनुहुन्छ इतिहासविद् त्रिरत्न मानन्धर । ‘नेपाल निरुक्त’ र ‘नेपाल निरूपण’ पनि उहाँका महत्वपूर्ण पुस्तक हुन् । यी पुस्तक उहाँका लेखका सङ्कलनका रुपमा रहेका छन् । ती सबै मौलिक स्रोतमा आधारित छन् । जसमा प्रमाणिक कुरामात्र राखिएकाले अनुसन्धाताका लागि उपयोगी मानिन्छन् । हरेक पुस्तक आफैँ अनुसन्धान गरेर लेख्ने उहाँको मौलिकशैली थियो । अन्यत्र प्रकाशित स्रोतमा उहाँ भर पर्नुहुन्नथ्यो ।
आफैँ खोजी गरेर पुष्टि भएपछि मात्र त्यसलाई पुस्तकको रुप दिने गर्नुहुन्थ्यो । नेपालले परराष्ट्र मन्त्रालयका कागजपत्र खोजेर तिनको व्याख्या गरी पुस्तक लेख्नुभएको छ । उहाँले काठमाडौँको गुठीका बारेमा अनुसन्धान गरी लेखिएको लेख पनि चर्चित छ । नेपाल र भोटबीचको सांस्कृतिक सम्बन्धका विषयमा पनि उहाँले पुस्तक लेख्नुभएको छ ।
नेपालको सबैभन्दा धेरै चर्चित, बढी पढिएको र धेरैले सन्दर्भसूचीका रूपमा उल्लेख गर्ने गरेको पुस्तक नेपालको ‘महाभारत’ भएको इतिहासविद् मानन्धर बताउनुहुन्छ । सो पुस्तकमा उहाँले शाहकालका विभिन्न षड्यन्त्रका विषयलाई समेट्नुभएको छ । सिनासले प्रकाशन गर्ने जर्नल कन्ट्रिब्यूशन टू नेप्लिज स्टडीलगायत पत्रपत्रिकामा पनि उहाँका धेरै लेख छापिएका छन् ।
वैचारिक बहसमा सक्रियतापूर्वक सहभागी हुने निर्भिक समीक्षक पनि उहाँ हुनुहुन्थ्यो । इतिहासको खोज, अनुसन्धान गरी जीवनको अन्तिमसम्म पनि उहाँले लेखिरहनुभयो । रोगले थलिए पनि उहाँले अध्ययन, अनुसन्धान र लेखनलाई बिट मार्नुभएन । फलस्वरुप उहाँले आफ्नो नाम अनुसारको काम भने झैँ ज्ञानको मणि बनेर नेपाली इतिहासमा तीन दर्जनभन्दा बढी कृति दिएर जानुभएको छ
मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित नेपालको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही जेठ १ गते मध्याह्नमा निधन भएको थियो । इतिहासकार नेपालका दुई छोरा हुनुहुन्छ । उहाँकी श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको उहाँका भाइ एकमणि नेपालले जानकारी दिनुभयो ।
नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको रूपमा चिनिन्छ । भोजपुरमा विसं १९८९ माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाडमा कार्यक्षेत्र बनाइ कौमुदी, चण्डीबाट शिक्षाआर्जन गर्न सुरु गर्नुभएको थियो । काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गर्नुभएको छ । जसमा ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत करिब तीन दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार सोडारीले राससलाई जानकारी दिनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नुभएका नेपाललाई नेपालको इतिहासमा एक अन्वेषक इतिहासकारका रुपमा स्मरण गरिने छ । इतिहास कसैलाई खुसी बनाउन भन्दा पनि वास्तविकता जे हो, त्यही जनसमक्ष ल्याउने विषय हो भन्ने नेपालका मूलमन्त्र थियो । यही मन्त्रबाट प्रेरित भएर उहाँले नोपलको ऐतिहासिक अध्ययन र लेखन गरेर बिदा हुनुभएको छ । (रासस)
---