Kath khabar
महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल


                  काठमाडौं, जेठ ३ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी सात वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरीका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसैगरी बैंकले आगामी पाँच वर्ष सम्ममा एक करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोष मार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने छ । यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस) हाल अध्ययनरत छन् । यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ ।

यी प्रयासहरूले लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी; मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तीकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ । लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update