काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसले अवरुद्ध गरिरहेको सङ्घीय संसद्का दुवै सदन आजदेखि सुचारु हुने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेदेखि बस्दैछ ।
आजको बैठकमा सभामुखले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।