Kath khabar
सर्‍यो प्रतिनिधिसभाको बैठक, दिउँसो दुई बजे बस्ने


                    काठमाडौं, जेठ ६ । प्रतिनिधिसभाको बैठकको समय सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद सचिवालयले जानकारी दिएको छ। प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ ।

आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताउनुभयो ।

प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो ।

सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले संसदीय समिति बनाउने विषयमा गरेको सहमतिलाई सकारात्मकरुपमा लिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सत्तापक्ष र विपक्षी दलले शनिबार सो सम्बन्धमा संसदीय समिति बनाउने र त्यसका लागि कार्यादेश बनाउन कार्यदल समेत गठन गरेका छन् ।

विपक्षी दलको बैठकले गृहमन्त्री लामिछानेले बोलेपछि समिति गठन गर्नुपर्ने माग गरेको छ । समिति गठन नभएसम्म सरकारी कार्यसूचीमा प्रवेश गर्न नदिने विपक्षी दलको निर्णय रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो । बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update