
ललितपुर, जेठ ६ । पूर्वराजा ज्ञानेन्द्र शाह जेठ ७ गते सोमबार ललितपुर आउनुहुने भएको छ । ललितपुर जिल्लावासीको विशेष निमन्त्रणामा पूर्वराजा शाह ललितपुर आउन लाग्नुभएको हो ।
पूर्वराजा शाहको पाटन सवारीलाई व्यवस्थित र सभ्य बनाउन वरिष्ठ समाजसेवी रुक्मणी अवाले तथा मंगल टोल सुधार समितिका अध्यक्ष श्री किरणमान प्रधानको संयोजकत्वमा एक हजार एक सवारी व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । शाहको स्वागतमा मोटरसाइकल र्यालीसहित शक्ति प्रदशर्नको तयारी गरिएको छ ।
सोमबार दिउँसो साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट र्याली सुरु हुनेछ । त्यहाबाट हिमालयन होटेल, पाटन ढोका, चाकुपाट हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ ।
त्यसपछि शाहको बंगलामुखी देवी मन्दिर, श्री कुम्भेश्वर, श्री हिरण्यवर्ण महाबिहार र श्री कृष्ण मन्दिरको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ। अपरान्ह ४ बजे बंगलामुखी मन्दिरमा आधा घण्टा पूजाआजा हुनेछ । त्यहाबाट हिरण्यमहाविहार पैदलै जाने तथा त्यहाबाट कृष्णमन्दिरको दर्शन गर्न जानुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पछिल्लो समय पूर्वराजा शाह नागरिकहरुको आग्रहमा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुनुभएको छ ।