Kath khabar
इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि

 

                     तेहरान, जेठ ७ ।  इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको छ । हिजो आइतबार इरानको जोल्फामा राईसीको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टरमा इरानका राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमीराबदुल्लाहियन पनि सवार थिए । पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परराष्ट्रमन्त्री र उनीसहित अन्य सात जनाको मृत्यु भएको पनि पुष्टि भएको छ ।

सीएनएनका सैन्य विश्लेषकले दुर्घटनाको वास्तविक कारण खराब मौसम हुन सक्ने आशंका व्यक्त गरेका छन् । ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा जानुभएको थियो । त्यहाँ उहाँले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गर्नुभएको थियो । उहाँको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ ।

विभिन्न राजनीतिक, सामाजिक र आर्थिक संकटलाई लिएर इरानमा असन्तुष्टि बढिरहेको बेला इब्राहिम रायसीको विमान दुर्घटना भएको हो । इरानका धर्मगुरु शासकहरूले तेहरानको विवादास्पद आणविक कार्यक्रम र युक्रेनमा युद्धको क्रममा रुससँगको गहिरो सैन्य सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेका छन् ।

इरानको राष्ट्रपति हुनुका साथै, रायसी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनी र कट्टरपन्थी धर्मगुरुको नजिकको मानिन्छन्। इब्राहिम राईसीले २०२१ को राष्ट्रपतीय निर्वाचनमा भारी मतान्तरले विजय हासिल गरेका थिए । यस निर्वाचनमा राईसीले करिब ९७ प्रतिशत मत पाएका थिए । रायसीको विजयले इस्लामिक देश इरानको हरेक भागमा रूढिवादी नेताहरूको नियन्त्रणलाई अझ बलियो बनाएको थियो । जब रायसी इरानको राष्ट्रपति भए तब उनले इरानको गम्भीर आर्थिक समस्या, बढ्दो क्षेत्रीय तनाव र अमेरिकासँगको आणविक सम्झौताको वार्ता जस्ता धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update