Kath khabar
इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला (तस्विरहरुसहित)


               तेहरान, जेठ ९ । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उहाँको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो ।

खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका राईसी ६३ वर्षको हुनुहुन्थ्यो । राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उहाँको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।

तेहरानबाट शवलाई दक्षिण खोरासान प्रान्तमा लगिने छ र त्यसपछि उत्तरपूर्वमा रहेको राईसीको गृह नगर मशादमा लगिनेछ, जहाँ बिहीबार साँझ इमाम रेजा दरगाहमा इस्लामिक परम्परा अनुसार अन्तिम संस्कारपछि उहाँको अन्त्येष्टि गरिनेछ ।

खामेनीले इरानी संविधान अनुसार राष्ट्रपति रायसीको मृत्युपछि उहाँको सम्मानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ भने ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई आगामी जुन २८ मा हुने निर्वाचनसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोक्नुभएको छ । इरानले शीर्ष आणविक वार्ताकार अली बागेरीलाई कार्यवाहक विदेशमन्त्रीको जिम्मेवारी दिएको छ ।

इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले हेलिकप्टर दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई आदेश दिनुभएको छ । इरानको आणविक गतिविधिलाई लिएर अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला रायसी सन् २०२१ मा उदारवादी हसन रौहानीको स्थानमा राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।
iran-1716366995.JPG
202405220741-0938b762-7c0a-463b-9157-e1cfbac76f37_medium-1716367009.jpg
202405220743-23dc7dad-fe81-42bc-879c-59fcc5b356ab_medium-1716367012.jpg
202405220745-dbef1f5c-8475-45ac-bbc2-0f229f20e673_medium-1716367017.jpg
202405220744-ba3d2b96-d90c-45a8-aab5-d757d1e63986_medium-1716367138.jpg
 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update