काठमाडौं, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएपछि रास्वपाले एक विज्ञप्ति जारी गर्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन भनेको छ ।
बुधवार रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै रास्वपाले आफूहरू लोकतान्त्रिक मूल्य प्रतिबद्ध रहेको भन्दै विधिको शासनमा कानुन भन्दामाथि कोही नरहेको बताएका छन् ।
'जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना गर्नुपर्ने बताउँदै रास्वपाले 'कोही-कोहीलाई छुनै हुन्न' भन्नु सामन्ती कायरता भएको रास्वपाले उल्लेख गरेको छ । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ', रास्वपाले बताएको छ ।
'नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं, अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ', विज्ञप्तिमा उल्लेख छ । 'नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नरहेको रास्वपाले स्पष्ट पारेको छ ।
रास्वपाले भनेको छ- 'सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्'।