Kath khabar
पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने


                     काठमाडौं, जेठ ९ । विश्वका धर्माबलम्बीहरूको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ ।

मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा  कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो ।  उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री महाभागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिनुभयो । हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानवजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उहाँले बताउनु भयो ।

नेपाल अध्यात्मभूमि हो । यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान,साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देश समेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । महायज्ञ अवधिभर जगद्गुरू, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update