Kath khabar
चण्डेश्वरी मन्दिरमा जेठ १४ गते विश्वकै पहिलो मूर्ति सार्वजनिक हुँदै


                    काठमाडौं, जेठ १२ । उर्वर भूमि नेपालले सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति यही १४ गते काठमाडौंको टोखा नगरपालिका-२ स्थित चण्डेश्वरी मन्दिरमा सार्वजनिक गर्न लागेको हो । शनिबार राजधानीको संवाद डबलीमा उर्वर भूमि नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो मूर्ति विश्वमा नै पहिलो हुने दाबी गरेको छ ।

सो संस्थाका अध्यक्ष गंगालाल श्रेष्ठले नेपाल र नेपाली आफ्नो मौलिक धर्म र संस्कृतिलाई त्यागेर पापतिर उन्मुख भएकोले उचित बाटोमा ल्याउन यस्तो कार्यको सुरुवात गरेको बताए । अध्यक्ष श्रेष्ठले मूर्ति सार्वजनिक गर्न लागेको स्थान पौराणिक कालमा दक्ष प्रजापतिको दरबार रहेको र उक्त ठाउँमा उनले बृहस्पति महायज्ञ गरेको समयमा सोही यज्ञ कुण्डमा सतिदेविले हामफाली प्राण त्याग गरेको दाबी गरेका छन् ।

टोखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोलले उर्वर भूमि नेपालले सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न लागेकोमा खुसी व्यक्त गर्दै भने, “नेपालको धर्म तथा संस्कृति विश्वमा नै पुरानो भएको कुरालाई यस कार्यले परिचित गर्न सघाउने छ, यसका लागि तपाईहरुलाई धन्यबाद, हाम्रो साथ रहने छ ।” सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डंगोलले यस्तो कार्यले चण्डेश्वरी मन्दिर विश्व सम्पदामा सूचिकृत गर्न सघाउने विश्वास रहेको बताए ।

टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले उर्वर भूमि नेपालले सतिदेविले प्राण त्याग गरेको ऐतिहासिक स्थानलाई महत्व दिएकोमा धन्यबाद दिए ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द मान्डब्यले नेपालका राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुले  मौलिक धर्म तथा संस्कृतिलाई कौडीको भाउमा बेचेको आरोप लगाए । पछिल्लो समयमा नेपाली सनातन धर्म संस्कृतिको विरुद्धमा देशी विदेशी शक्तिहरुले चलखेल गर्नु दुःखद भएको पनि बताए ।

विश्व हिन्दु युवा संघ अध्यक्ष ऋषिकेश जंग शाहले नेपाललाई धर्म निरपेक्ष बनाएर ठूलो भूल भएको बताउँदै भने, “आफ्नो धर्म संस्कृतिमाथि कुठाराघात गर्नेहरुलाई आम नेपालीले बहिष्कार गर्न जरुरी छ ।” विश्व हिन्दु महासंघ कर्णाली प्रदेश सदस्यसमेत रहेका शाहले नेपालमा हत्या हिंसा, राजनीतिक तिगडमको खेलले देश ध्वस्त भएको भन्दै त्यसको अन्त्यको लागि सबै राष्ट्रवादी एकजुट हुन आह्वान गरे ।

चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष धुर्बराज जोशीले चण्डेश्वरीको इतिहास तथा महिमालाई जीवन्त राख्न उर्वर भूमि नेपालको भूमिकामा सहमति जनाउँदै सो कार्यमा सघाउने प्रतिबद्धता जनाए । ज्योतिष आध्यात्मिक पत्रकार कृष्ण प्रसाद अधिकारीले स्वस्तिक वाचन गर्दै सो अभियान सफलताको शुभकामना दिए ।

उर्वर भूमि नेपालका सचिव धर्मराज उपाध्यायले आफूहरूले मूर्ति सार्वजनिक मात्रै नभएर देशमा दीर्घकालिक शान्ति स्थापना गर्नका लागि १ सय ८ महायज्ञ ७७ वटै जिल्लामा गर्ने बताए । सो माध्ये २०८० माघ ११ गते काभ्रेको मण्डन देउपुरमा सम्पन्न गरिएको र २०८१ जेठ १९ गते काठमाडौंको नारायणहिटी राजदरबारको नारायणी मन्दिरमा गर्ने तयारी भएको बताए ।

आयोजकले यही जेठ १४ गते टोखा नगरपालिकाको वाड न.२ स्थित चण्डेश्वरी मान्दिरमा सतिदेवीको मृत शरीर बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति सार्वजनिक गर्ने बताएको छ ।

मूर्ति सार्वजनिक, रथ यात्रा र महायज्ञ हुने मिति, स्थान र समयः

१) मितिः २०८१ साल जेष्ठ १४ गते विहान ९ बजे काठमाण्डौको टोखा न.पा. वडा नं. २ चण्डेश्वरी मन्दिरको प्राङ्गणबाट सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति सार्वजानिक गरिने ।

२) १४ देखि १७ गते बिहान ८ः३० बजेसम्म हवन, मूर्ति पुजन, मन्तन्य, सम्मान पत्र बितरण, भजन कीर्तन जस्ता कार्यक्रमहरु हुने ।

३) १७ गते बिहान ९ः०० बजे उक्त मुर्तीलाई लिएर यात्रा अगाडि बढाईने, बुढानिलकण्ठ, नारायणस्थान, गणेश चोक, हात्तीगौंडा, गल्फुटार, न्यूरो हस्पिटल, गंगालाल हस्पिटल, नारायणगोपाल चोक चक्रपथ, चण्डोल चप्पल कारखाना, धुम्बाराही हाँडी गाउँ हुँदै १७ गते बेलुका का.म.न.पा. वडा नं. ५ हाँडीगाउँको भूमेश्वर कृष्ण मन्दिरमा बास बस्ने ।

४) १८ गते बिहान ९ः०० बजे यात्रा अगाडि बढाइने १८ गते बेलुका का.म.न.पा. वडा नं. १ नारायणहिटी दरवार स्थित रहेको नारायण मन्दिरको प्राङ्गणमा मूर्ति राखिने, १८ गते कलश सिंगार्ने कार्य गरिने ।

५) १९ गते बिहान १०ः०० बजे हिटीबाट कलश भरेर भगवती बहाल, कमलपोखरी, डिल्लीबजारको कालिकास्थान, शंकरदेव क्याम्पस, भृकुटीमण्डप, भद्रकाली मन्दिर, महाङ्काल मन्दिर, रत्नपार्क, रानीपोखरी, जमल, निर्वाचन आयोग, नारायणहिटी दरबारको संग्राहलय परिक्रमा गरेर चतृव्युह नारायण मन्दिरको प्राङ्गणमा निर्माण गरिएको यज्ञ मण्डपमा कलश थपना गर्ने ।

६) १९ गते दिनको ३ः०० बजे देशमा दिगो शान्तिको स्थापना, विश्व शान्तिको कामना गर्दै जोडी परेवा उडाएर प्रमुख अतिथिको हातबाट ३ फिटको उचाइमा निर्माण गरिएको विश्वलाई शान्तिको ज्ञान दिन लागेको बुद्धको मूर्ति सार्वजानिक गरी, महायज्ञको समुद्घाटन गरिने ।  

७) २० गते देखि २६ गते सम्म सप्ताह कथा वाचन , हवन, भजनकीर्तन अन्य प्रमुख अतिथि, विषेश अतिथि, अतिथि, उपस्थित बिभिन्न साधु सन्त लगायत उपस्थित श्रद्धालु भक्तजनहरुलाई सम्मान गरिने ।

८) २७ गते तिर्लापण, पुर्णावती गरिने ।

९) २८ गते बुद्ध ज्ञान प्राप्त गुरुहरूद्धारा सामूहिक रुपमा शान्तिको पाठ पुजा र प्रवचन गरिने ।

१०) २९ गते नारायणहिटी नारायण स्थानबाट उक्त सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति र बुद्धको मुर्तीलाई लिएर यात्रा अगाडि बढाई गुह्येश्वरी मन्दिरमा पुग्ने कार्यक्रम रहेको समेत जानकारी गर्दछौँ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update