काठमाडौं, जेठ १४ । विश्वकप खेल्ने सपना देखिरहेका नेपाली क्रिकेटका स्पिनर तथा पूर्व क्याप्टेन सन्दीप लामिछानेले भावुक हुँदै फेसबुकमा आज एउटा स्टाटस लेखेका छन् । उनले आफ्नो सपना पुरा नभएपनि देशको सपना पुरा भएकोमा म खुसी छु भनेका छन् । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीपको स्टाटसमा निराशापन पनि प्रष्ट देखिएको छ ।
उनी लेख्छन् - "इमान्दारितापूर्वक, मेरो सपना पुरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पुरा भएको छ ।"
नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा सन्दीप भने अमेरिकी दूतावासले भिसा दिन इन्कार गरेपछि जान पाएका छैनन् । उनलाई भिसा दिलाउन अहिले उच्च तहबाट नै पहल भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज मात्रै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई क्रिकेटर लामिछानेको भिसा प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको थियो । यद्यपी अमेरिकाले भिसा दिने सम्भावना कम छ ।