Kath khabar
“रेमल” चक्रवातको सामान्य प्रभाव- यि प्रदेशहरुमा चट्याङ्ग र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

 

                 काठमाडौं, जेठ १५ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ।

हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update