काठमाडौं, असार २७ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताउनु भएको छ । वीर अस्पतालको नवनिर्मित शल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलि समेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो । ‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं यसरी लगभग सन् २०२१ भित्र मोटामोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, उहाँले भन्नुभयो ।
यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्क लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्मजारी राख्नुपर्ने उहाँले बताउनुभयो । सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाई पनि उहाँको थियो । यस्तो उपचार जनताको जनताको क्रयशक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवा समेत बिमाले समेटदै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनभयो ।
नेपाली भूमिज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्यक्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको पनि उहाँले बताउनुभयो । ‘हाम्रा पुर्वज अन्धविश्वासी थिएनन् अनुसन्धान गरेको आधारमा विभिन्न जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहिता निस्किसकेका थिए । ‘यस्तो शिक्षालाई शाशकले अघि नबढाएकाकारण शिक्षा निषेध हुनथालेपछि त्यो ज्ञानको प्रसार हुन पाएन परिवारमा सिमित भयो’ उहाँको भनाई थियो । अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दाे भएको बताउदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।
नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उहाँले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप उर्जा दिने उहाँले बताउनुभयो । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुरालाई चरितार्थ गरिनुपर्ने बताउनुभयो । अस्पताललाई अबिलम्बपूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नु नहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडिनै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताउनुभयो । सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताउनुभयो । अस्पतालपूर्ण क्षमतामा संचालन हुँदा दुई सय वटा सघन उपचार कक्ष र एक सय वटा डायलायसिस सेवा दिने सैया बन्ने तथा छुटै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी पनि दिनुभयो ।