काठमाडौं, जेठ १६ । गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गर्नुभएको छ । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गर्नुभएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताउनुभयो । हाल उपत्यकाभित्र दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् । थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उहाँले जानकारी दिनुभयो ।
ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताउनुभयो ।
यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ । सवारी नियम उल्लङ्घनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन् । (रासस)
–––