Kath khabar
सुनको गहना लुट्ने उद्देश्यले हत्या, पाँच जना पक्राउ



                  काठमाडौं, जेठ १७ । झापा बिर्तामोड नगरपालिका– ४ शिवनगर टोल बस्ने ६७ वर्षीया बिष्णुमाया विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका– ४ शिवनगर टोल बस्ने २२ वर्षीय गंगा प्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया बर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ४३ वर्षीय धन बहादुर कामी रहेका छन् ।

बिष्णुमायाको गत वैशाख २६ गते बिहान आफ्नै घरमा हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, जिल्ला प्रहरी कार्यालय झापा, कोशी प्रदेश अनुसन्धान समुह समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमध्ये गंगा प्रसाद, महेश, बर्षा र भगरथलाई बुधबार र धन बहादुर बिहीबार पक्राउ परेका हुन् ।

उनीहरूले सुनको गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट सुनको बाला १ थान, बेरूवा औंठी १ थान, जन्तर १ थान, सिक्री १ थान, टप १ जोर र चाँदीको कलश १ थान बरामद भएको छ ।

उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update