Kath khabar
दाल, गेडागुडी आयातमा अग्रिम आयकर लगाउनु दुःखद्

 

                    काठमाडौं, जेठ १८ । नेपाल चामल, तेल र दाल उद्योग सङ्घले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने दाल उद्योगको कच्चापदार्थ (दाल, गेडागुडी) आयातमा अग्रिम आयकर लगाउनु दुःखद् भएको बताएको छ ।
      
सङ्घका अध्यक्ष कुमुद दुगडले बिहीबार विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कच्चापदार्थ आयतमा १० प्रतिशत अग्रिम आयकर थपिँदा दाल र गेडागुडी महँगो हुने र उपभोक्ता मारमा पर्ने बताउनुभएको छ ।

“कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातीत तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द हुने स्थिति आउनसक्छ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हाल मिलको कच्चा दाल र गेडागुडी आयतमा १० प्रतिशत भन्सार महसुल लागिरहेको अवस्थामा अग्रिम करले गेडागुडी झन महँगो हुने सङ्घले जनाएको छ ।

नेपालमा हाल ३५ दाल उद्योगमा झण्डै रु ३५ अर्ब लगानी रहेको र पाँच हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइ मुलुकको राजस्वमा उल्लेख्य योगदान दिँदै आएको अध्यक्ष दुगडले बताउनुभयो । सङ्घले स्वदेशी दाल उद्योगले १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने भएकाले कच्चा दालमा लागेको अग्रिम आयकर खारेज गर्न सरकारसँग अनुरोध गरेको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update