Kath khabar
सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरुले नै फुटपाथ बढाउँदा बिरोध गरे  - बालेन्द्र शाह

 

                  काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडको सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेकाहरु अहिले फुटपाथ बिस्तारको बिरोधमा लागेको आरोप लगाएका छन् । सडक डिभिजन कार्यालयले दिएको दुई दिनको अल्टिमेटम सकिँनै लाग्दा मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आक्रोश पोखेका हुन् ।

‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, उनले प्रश्न गरेका छन् ।

'प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ', उनले भनेका छन् ।

बालेनले फुटपाथ बढाएर सडक साँघुरो बनाएको भन्दै न्युरोड क्षेत्रका स्थानीयले प्रदर्शन गरेका थिए  । बालेनको  फुटपाथ बढाउने काम सडक विभागले रोकिदिएको थियो ।

उनले भनेका छन् –

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।  
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update