Kath khabar
नेपालमा उत्पादित चियाको माग ३.२ प्रतिशतले बढ्ने 

काठमाडौं, असार २७ । नेपालमा उत्पादित चियाको माग ३.२ प्रतिशतले वृद्धि रहेको पाइएको छ । उद्योग विभागले गरेको अध्ययन अनुरुप नेपालमा उत्पादित चिया अगामी पाँच वर्षको औषत मागको वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।

गत वर्षको वास्तविक माग २०१९÷२० मा कूल को उत्पादन भन्दा ४ हजार मेट्रिक टन बढी अर्थात् २४ हजार १ सय १८.२७ मेट्रिक टन उत्पादन रहेको छ। पछिल्लो पाँच वर्षको मागको औसत वृद्धि २.६१ प्रतिशत रहेको विभागले गरेको ‘नेपालमा आत्मानिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको विस्तृत अध्ययन प्रतिवेदन’ उल्लेख गरिएको छ । 

नेपालमा उत्पादन हुनेमा मुख्यगरी दुई थरी चिया अर्थात् सीटीसी र अर्थोडक्स चिया उत्पादन तथा निर्यात हुने गरेको अध्ययनले देखाएको छ । दुई किसिमका चियाहरुमा झापा जिल्लामा सीटीसी र पहाडी क्षेत्रमा परम्परागत अर्थोडक्स चिया, ग्रीन चिया, आदि प्रायः इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्ला आदि रहेको विभागका अधिकारीहरुको भनाई रहेको छ । 

चियाको कच्चा पदार्थ भनेको स्थानीय चिया इस्टेट र साना फार्महरुमा उत्पादन गरिएको चिया बोटको तीन पातहरुको टुप्पा मात्र हुन्। सन् २०१९/२० मा चिया उत्पादन औसत ५२ प्रतिशतले बढेको छ, यदपि चिया बगैंचाको क्षेत्रफल भने विगतका वर्षहरुको तुलनामा ४१ प्रतिशतले कम देखिन्छ । नेपालमा उत्पादित चियाहरु विशेष गरी भारत, रसिया र त्यसपछि एसिया, युरोपियन मुलुकमा निर्यात हुने गरेको छ । नेपाल चिया निर्यातको अवस्था हेर्दा सन् २०१९/२० मा प्रायः भारतमा १०८१६.३ मेट्रिक टन (९६.७ प्रतिशत) गरेको छ, त्यसपछि रसिया २०४. ५ मेट्रिक टन (१.८ प्रतिशत) रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा २.७८ अर्बको चिया निर्यात गरेको छ । 
अध्ययनले चिया निर्यातसँगै आयात समेत भएको पाउन सक्छौं ।

आयातको तुलनामा निर्यातमा वृद्धि हुदाँ व्यापार नाफामा रहन्छ सो हिसाबले गर्दा चियामा भने मुलुक नाफामा रहेको देखाएको छ। नेपालमा चिया आयातको अवस्था हेर्दा सन् २०१९/२० मा प्रायः भारतबाटा १९८ मेट्रिक टन (९१ प्रतिशत) आयात गरिएको छ, त्यसपछि चीन १४ मेट्रिक टठन (६.३७ प्रतिशत) रहेको छ । अन्य देशहरु श्रीलंका, टर्की, थाइल्यान्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), इटानली र बंगलादेश आदिबाट पनि आयात गर्ने गरिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ७ दशमलव ७४ करोडको चिया आयात गरिएको छ। विगच ५ वर्षमा चिया आयातको टे«ण्ड घटेको पाइयो तर मूल्य भने स्थिर रहेको अध्ययनमा उल्लेख छ।

सन् २०१९/२० को तथ्यांकलाई हेर्ने हो भने  सीटीसी, अर्थोडक्स र अन्य गरी करिब २४ हजार मेट्रिक टन चिया उत्पादन भएको छ । अध्ययन अनुरुप सन् २०१९/२० मा सीटीसी चिया उत्पादन १४९७७.३ मेट्रिक टन (६२ प्रतिशत), अर्थोडक्स चिया ८२५१.३ मेट्रिक टन (३४ प्रतिशत) र हरियो र अन्य चिया ८८९.६७ मेट्रिक टन (४ प्रतिशत) रहेको छ ।

चिया उद्योगको औसत क्षमता उपयोग सीटीसीको लागि करिब ६० प्रतिशत हो भने अर्थोडक्स चियाको ४४ प्रतिशत रहेको विभागको भनाई रहेको छ।

त्यस्तै, नेपालमा १४६ चिया इस्टेट र १४०१४ साना चिया किसानहरु छन् भने १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ। यसैबीच ठूला चिया इस्टेटहरुले ७२ प्रतिशत जमिन ओगटेका छन् भने साना किसानहरु, जो मुख्यतया पहाडी क्षेत्रमा छन् र अर्थोडक्स चिया उत्पादन गर्छन्, बाँकी २८ प्रतिशत जमिनमा खेती गर्छन् । 

प्रायः चिया निर्माता र प्रोसेसरहरु साना स्केल (८४ प्रतिशत) छन्, केहि मध्यम स्केल (१५ प्रतिशत) र बाँकी ठूला स्केल (२ प्रतिशत) छन्। कुल लगानी पुँजी लगभग ८.५ अर्ब रहेको चिया क्षेत्रमा प्रशोधन व्यवसायमा अनुभवको अभाव, आपूर्तिका मुद्धाहरु, व्यवसाय वातावरण अवरोध, श्रमिकहरुको सामाजिक र आर्थिक स्थिति आन्तरिक चुनौतीहरु रहेको छन् भने चिया नीति, भारतीय चिया व्यापार र सरोकारावाला, वैदेशिक निर्यात बढाउनमा अवरोध, प्राविधिक सहयोगको अभाव, निजी क्षेत्रको वित्तीय स्रोत, बजार प्रवेश अवरोध बाह्य लगायतका चुनौतीहरु समेत अध्ययनले उजागर गरेको छ।

अध्ययनले नेपालमा पहिलो चिया बिरुवा बीउबाट उब्जाइएको थियो भन्ने विश्वास गरिन्छ जुन चिनियाँ सम्राटनले नेपालका तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणालाई उपहार स्वरुप दिएको उल्लेख गरेको छ।  चिया क्षेत्रले हजारौंलाई रोजगारी समेत दिएको छ। चिया क्षेत्रले लगभग ७० हजार मानिसहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ भने औसत ३० हजार प्रत्यक्ष रोजगारी दिएको छ, जसमध्ये अधिकांश महिलाहरु छन्( लगभग ६० प्रतिशत) । त्यस्तै सरकारले नेपालमा आत्मानिर्भर हुन सक्ने औद्योगिक वस्तुमा समेत चियालाई राखेको छ भने यसका अलाव विद्युतिय तार र कण्डक्टर , जुत्ता चप्पल, जस्ता पाता, पेन्ट तथा औषधीलाई राखी त्यसमा अध्ययन समेत गरेको विभागका अधिकारीहरुको भनाई रहेको छ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update