Kath khabar
२५ विधामा अवार्ड प्रदान गर्दै ७औं सिने सर्कल अवार्ड सम्पन्न


                 काठमाडौं, जेठ २० । नेपाली चलचित्रको अवार्डको अवस्था खस्की रहेको बेला चलचित्रकर्मीलाई नै गर्वको महसुस हुनेगरी काठमाडौंमा भव्यताका साथ ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । काठमाडौंको आर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका यो अवार्ड सम्पन्न भएको हो । समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो ।

नेपाली सैनिक कलाकारद्धारा विभिन्न नेपाली चलचित्रमा अर्केष्ट्रा धुन प्रस्तुतिसँगै शुरु भएको यो अवार्ड समारोहको सञ्चालन कार्यक्रम आयोजक तथा सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले अवार्डको महत्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा क्यामेराको पछाडि रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई समारोहमा दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित चलचित्र सम्पादक नरेन्द्र खड्का र चलचित्र मेकअप कलाकार अशोक रोकालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

अग्रज अभिनेत्रीहरू भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, अग्रज संगीतकार शम्भुजित बासकोटा, अग्रज अभिनेता शिव श्रेष्ठ, अर्जुन जंग शाही, सन्तोष पन्त, सरोज खनाल, चलचित्र सम्बन्धी करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरुलगायतले यो सम्मान संयुक्त रुपमा प्रदान गरे । आफूहरूले जहिले पनि पर्दा पछाडी रहेर काम गर्ने अग्रज चलचित्रकर्मीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै आएको अवार्ड आयोजक दिनेश डिसीले कार्यक्रममा प्रकाश पारे ।

यो अवार्ड समारोहमा सम्पन्न अवार्ड समारोहमा यसपटक निश्चल बस्नेतको चलचित्र दिमाग खराबले सर्वाधिक अवार्ड जित्यो । यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच अवार्ड पायो । जसमा यही फिल्मबाट निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायाँकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरे ।  उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र अगस्त्यबाट सौगात मल्लले चुमे भने चलचित्र 'अगस्त्य'बाटै उत्कृष्ट खल चरित्रको अवार्ड प्रमोद अग्रहरीले र अगस्त्यबाटै द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले हासिल गरे ।

यसैगरी २०८० मा राम्रो व्यापार गर्न सफल चलचित्र जारीले पनि अवार्डमा राम्रो पकड जमायो । जारीबाट उपेन्द्र सुब्बाले उत्कृष्ट नव निर्देशक र उत्कृष्ट स्क्रिनप्ले राईटरको अवार्ड हासिल गरे । जारीले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड प्राप्त ग¥यो भने जारीबाटै दयाहाङ राई र मिरुना मगरले उत्कृष्ट अन स्क्रिन जोडीको अवार्ड चुमे ।

गीत संगीततर्फ उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र 'बगान'का लागि संगीतकार सुवास भुसालले, पाश्र्व गायिकाको अवार्ड बगानबाटै गायिका अन्जु पन्तले र पार्श्व गायकको अवार्ड चलचित्र प्रदेशी २ बाट  निशान भट्टराईले प्राप्त गरे । यस्तै उत्कृष्ट कोरियोग्राफरको अवार्ड चलचित्र 'नांगो गाउँ'को सुन सुन गीतबाट रामजी लामिछानेले, उत्कृष्ट भीएफएक्सको अवार्ड चलचित्र 'उपहार'बाट अनुपम गौतम शर्माले, उत्कृष्ट पोस्टर डिजाइनरको अवार्ड चलचित्र 'बुलाकी'बाट राकेश दाहालले, उत्कृष्ट ट्रेलरको अवार्ड चलचित्र 'काँडेतार'बाट बन्दे प्रसादले र उत्कृष्ट स्टन्टको अवार्ड पनि चलचित्र काँडेतारबाटै लक्ष्मण सेन्चुरीले पाए ।

यसपटक समारोहमा क्रिटिक्स अवार्ड अभिनेताको अवार्ड चलचित्र बुलाकीबाट अभिनेता नरेन खड्काले र अभिनेत्रीको अवार्ड चलचित्र बुलाकीबाटै अभिनेत्री सुरक्षा पन्तले र निर्देशकको अवार्ड चलचित्र अन्तिम संस्कारबाट प्रदीप शाहीले पाए । यस्तै ट्रेण्ड सेटर्स अवार्ड चलचित्र निर्देशक रामबाबु गुरुङ र अर्का चलचित्र निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो । रामबाबुलाई कबड्डी जस्ता ग्रामीण परिवेशका सफल चलचित्र निर्माता र प्रदीपलाई सफल समसामयिक हास्यप्रधान सामाजिक चलचित्र निर्माणका लागि यी अवार्ड प्रदान गरिएको अवार्ड आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र चलचित्र पुराज सार्कीका कलाकारको गीत संगीत प्रस्तुतिसँगै विभिन्न कलाकारको नृत्य रह्यो । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई थिए ।

best-debutain-director-1717318260.jpg
best-music-1717318270.jpg
best-actress-and-director-1717318311.jpg
 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update