काठमाडौं, जेठ २१ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनतालाई नझुक्याउन आग्रह गरेका छन् ।
मेयर शाहले आज सामाजिक सञ्जाल मार्फत १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् । उनले ओलीलाई व्यंग्य गर्दै भनेका छन् - "१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ, अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।"
फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले फेरि बनाउन थालेपछि मेयर बालेनले आक्रोशित हुँदै यस्तो स्टाटस लेखेका हुन् । महानगरको पछिल्लो कार्यपालिका बैठकमा मेयर शाहको २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनसँग यसै विषयमा भनाभन भएको थियो । महर्जन एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष हुन् । महानगरले भत्काएको न्यूरोडको सडकमा सोमबार बिहान सडक विभागको टोलीले सडक कालोपत्र हालेर बनाउन थालेको छ ।
उनले थप व्यंग्य गर्दै भनेका छन् - "समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।"