काठमाडौं, असार २८ । विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरस (कोभिड-१९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका चार सय ४७ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एक लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् । समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार शनिवार साँझ (१० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।
संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।