Kath khabar
आइसिसी टी-२० :  अफगानिस्तानद्वारा युगाण्डा पराजित


                        काठमाडौं, जेठ २२ । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो । विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए । त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे ।

त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो । उसका लागि ओपनरद्वय रहमानुल्लाह  गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए ।

गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै मोहम्द नाबीले अविजित १४ रन बनाए ।

बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे ।  समूह ‘सी’मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज, न्यूजील्यान्ड र पपुवा न्युगिनी छन् ।

 

दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले हराउँदै विजयी भएको हो । अठहत्तर रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा एक चौकासहित सर्वाधिक २० रन जोडे । त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्कासहित १९ रन बनाएका हुन् । त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले दुई विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा एक चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा दुई छक्कासहित १६ रन बनाए । त्यसैगरी  कामिन्दु मेन्डिसले ११ रन जोडे । श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले चार विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान दुई–दुई विकेट लिए ।  समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
–––

 

–––

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update