काठमाडौं, असार २८ । “मेरो बुवा आमा धनगढीको कैलालीमा हुनुुहुन्छ । ७५ कटिसक्नु भयो । मेरो विवाह भएको हेर्न चाहनु हुन्छ । तर म यही म्याराथन भनेर दौडिराखे ।” लामो सास फेर्दै गोपीले भन्नु भयो । “ओलम्पिकको बारे धेरै उहाँहरुलाई थाहा छैन । विश्वका बलिया प्रतिस्पर्धी त्यहाँ आउनुहुन्छ भन्ने चाहीँ उहाँहरुलाई थाहा छ । मलाई ओलम्पिक खेल्नबाट हटाइएको भनेको छैन। ओलम्पिक तीन वर्ष पछि सरेको भनेको छु । उहाँहरुलाई झुक्याउँदा धेरै पिडा हुनेरैछ ।”
“मलाई गाह्रो भइरहेको थियो। पत्ताउनै मुस्किल नेपालबाट टोकियो ओलम्पिक खेल्नेमा मेरो नाम पहिले आएको थियो। युनिर्भस्यालिटी कोटामा मलाई राखिएको भनिएको थियो । अहिले हेर्नु त म छाँगाबाट खसेको जस्तो भएको छु । ठुलो धक्का लागिरहेको छ तर अभ्यास गर्न छाडेको छैन। मेहेनत मेरो जारी छ ।” २०१९को दक्षिण एसियाली खेलकुदका गोपी चन्द्र पार्कीले भन्नुभयो ।
गत मंसिरमा बाँकेमा नेपालगञ्ज म्याराथनको आयोजना भएको थियो । नेपाल ओलम्पिक कमिटीले सोही म्याराथनलाई ओलम्पिक छनौटको आधार भनेर पहिलो हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन पाउने बताएको थियो । हरेक खेलाडीको सपना हुन्छ । ओलम्पिकमा देशको प्रतिनिधीत्व गर्ने र पदक हात पार्ने । गोपी नेपालका अब्बल धावन हुनुहुन्छ । जसले सानै देखि ओलम्पिक खेल्ने सोच्नु भएको थियो र त्यही सपना साँचेर उहाँ नेपालगञ्ज जानुभएको थियो । त्यहाँ उहाँ उत्कृष्ट हुनु भयो । उहाँले निर्धारित दुरी दुई घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेपछि ओलम्पिक कमिटीले भन्यो तपाई ओलम्पिकमा छनौट हुनुभयो ।
ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह लगायत खेलकुदका पदाधिकारी र अन्य उपस्थितले उहाँलाई बधाइ समेत दिनु भयो । उहाँले सपना देख्नु भएको थियो कि बैकुण्ठ मानन्धरको किर्तीमान भंग गर्ने । त्यो बेला देखि लगातार उहाँले कडा मेहेनत गर्नुभयो । ओलम्पिकको छात्रवृत्ति उहाँले पाउनु भएन । उहाँ आफैले आफन्त र साथीभाइसँग सापटमा पाँच ६ लाख लिनुभयो ।
त्यसैबाट डाइट, ट्रयाकमा दौडिने जुत्ता तथा अन्य पोषाक किन्दै हुनुहुन्थ्यो र असार १७ गते वाइल्ड कार्ड तथा युनिभस्र्यालिटी कोटामा परेकाहरुलाई होटलमा राख्ने बताइयो । त्यति बेला राष्ट्रिय टोली तयारी समितीका प्रमुख महेन्द्र राईले उहाँलाई बिहान फोन गर्नुभयो र भन्नु भयो, “हामी होटलमा तपाईँ र तपाईँका प्रशिक्षकलाई राख्दैछौं । तपाईं तयार हुनुहोस् गाडी लिन आउनेछ ।” उहाँ तयार हुँदै गर्दा फेरी राइकै फोन आयो र भन्नु भयो, “तपाई अहिले तयार नहुनुहोस् । तपाइको नाम ओलम्पिकको तयारी गर्ने खेलाडीको सुचीमा छैन ।” गोपी युद्धमा हारेको सिपाही जस्तै निराश हुनुभयो ।
के भएको थियो त?
ओलम्पिक कमिटीले उहाँको नाम हटाएर सरस्वती चौधरीको नाम राखेको रैछ । त्यो पनि असार १० गते नै सरस्वती खेल्ने पक्का भएको जानकारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी एनओसीले जानकारी गराएको रहेछ । त्यतिबेलासम्म गोपी बेखबर नै हुनुहुन्थ्यो । “मलाई एकदमै नराम्रो लागेको थियो । मेरी खुट्टाबाट जमिन भासिएको जस्तो । म हारेको भए सहर्ष स्वीकारे हुन्थ्यो कि म सफल भइन र छनोट भइन । नेपाल ओलम्पिक कमिटीले आफैले म छनौट भएको घोषणा गर्यो । मैले त्यही अनुसार घाम पानी नभनी मेहेनत गरेँ । सपना देखेँ अहिले हेर्नुस त कति गाह्रो । मलाई अहिले आश्वासन पनि दिइएको छ । कि अन्य एसियन च्याम्पियनसिपमा प्राथमिक्ता दिने भनेर । तर त्यसको सुनिश्चितता होला त? के छ त्यसको ग्यारेन्टी । ”
के भन्छन् ओलम्पिक कमिटी, राखेप र एथ्लेटिक्स संघ
गोपीका लागि अथक प्रयास भएको तर अन्तिम समयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले आवेदन नै धेरै भएको भन्दै युनिभस्र्यालिटी कोटाबाट गोपीको नाम हटाएको र अन्तिममा महिला तर्फको एक सय मिटर दौडमा कोही छन् भने पठाउनु भने पछि हामीले उसको नाम पठाएको हो । यी तीनै वटा नियामक निकायले सयुंक्त जारी गरेको विज्ञप्तीमा उल्लेखित धारणा हो यो हो । अझ लेखिएको छ अथक प्रयास गर्योै हामीले तर नाम काटिएको एक साता सम्म किन गोपीलाई थाहा दिइएन यो विषयमा भने कुनै पनि निकायले खुलेर बोलेका छैनन ।
नेपाल ओलम्पिक कमिटीका अनुसार यस अघि म्याराथनमा सहभागिता जनाउने खेलाडीले २ घण्टा १८ मिनेटमा निर्धारित दुरी पुरा गरे हुन्थ्यो । गोपी पनि त्यही आसपासमा हुनुहुन्थ्यो तर अन्तिममा विश्व एथ्लेटिक्स महासंघले निर्धारित दुरी २ घण्टा ११ मिनेट तीस सेकेण्डको समयमा पुरा गर्नुपर्ने बताएपछि गोपी छनौट नहुनु भएको बताउनुहुन्छ । साँच्चै यस्तो भएको हो त?
कमजोरी कसको?
नेपालले ६०को दशक देखि ओलम्पिक खेल्न थालेको हो । अहिलेसम्म छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दोका दुइ खेलाडी मात्र हुनुहुन्छ । तेक्वान्दो कि संगिना वैद्य र दिपक विष्ट । यी बाहेक अन्य खेलाडीहरुले कि त युनिर्भस्यालिटी कोटाबाट कि वाइल्ड कार्डमा छनौट भएर । नेपाल जस्तो अल्पविकसित देशहरुलाई वाइल्ड कार्ड कोटा दिइन्छ र युनिभस्र्यालिटी कोटामा पनि प्राथमिकता राखिन्छ । २०१९को मार्चमै विश्व एथ्लेटिक्स महासंघले नियम ल्याएको थियो कि निर्धारित दुरी २ घण्टा ११ मिनेट तीस सेकेण्डमा पुरा गर्ने धावकलाई प्राथमिक्तामा राखिनेछ ।
नेपालगञ्जमा गोपीले बनाएको समयलाई हेर्ने हो भने उहाँ निर्धारित समय भन्दा सात मिनेट बढि ढिला भएको देखिन्छ । विश्व एथ्लेटिक्स संघको नयाँ नियमबारे दुई वर्ष बेखबर हुनु संघको कम्जोरी देखिन्छ । नेपालगञ्ज म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त होइन । यसलाई छनौटको माध्यम बनाएर गोपीलाई सपना देखाउने नेपाल ओलम्पिक कमिटी पनि गैरजिम्मेवार देखिन्छ र आन्तरिक घटनाबारे छानविन नगर्ने राष्ट्रिय खेलकुद परिषद्को व्यवहारले पनि संशय उत्पन्न भएको छ ।
तर आ-आफ्नो भनाइ राखेर पन्छिनु सहज छ । गोपीले देखेको सपना जिम्मेवार को बन्छ । त्यो बारे भने कसैले पनि सोचेको छैन ।