काठमाडौं, जेठ २४ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताउनुभयो । उहाँले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरु खोल्न सुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री पुनले भन्नुभयो, “नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धी गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न, बैँक तथा वित्तीय संस्थाको स्थापना र सञ्चालन व्यवस्थापन नियमन कार्यलाई व्यवस्थापन गर्न विधेयक ल्याउनुपरेको हो ।”
सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ती विषयहरुलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो । यो विधेयकमा छलफल हुँदैगर्दा केही विषय थपिएका छन् ।”
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
––